गलेश्वर । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन् ।
सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख काँग्रेसलाई दिने सहमति भएको थियो ।
त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाले निवर्तमान नगरप्रमुख लालकिशोर साहलाई नगरप्रमुख र कांग्रेसले किशोरी साहलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ ।
गठबन्धनमा आबद्ध दलहरुबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरी नेपाली काँग्रेसका नगर सभापति मनोज साहले नगरप्रमुखमा र निर्मल चौधरीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
स्वतन्त्र रुपमा साह र चौधरीले उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवारलाई असर पर्न सक्ने भन्दै दलका नेताहरूले स्वतन्त्र उम्मेदवारलाई मनाउने प्रयास भइरहेको कांग्रेस धनुषाका पूर्व सभापति महेशचन्द्र गिरीले जानकारी दिनुभयो ।
‘‘आफूहरूले स्वतन्त्र उम्मेदवार दुवै जनाको उम्मेदवारी फिर्ता गराउने पहल गरिरहेका छौँ”, गिरीले भन्नुभयो,‘‘अहिलेसम्म केही सकारात्मक परिणाम आउने सङ्केत त देखा परेको छैन ।” तर हेराँै आज साँझसम्म उम्मेदवारी फिर्ताको समय छ, त्यति बेलासम्म केही हुन्छ कि भन्ने आशा गरौँ उहाँको भनाइ थियो ।
यस्तै आफ्नै पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई मनाउन नेकपा (एमाले) का नेताहरू पनि जुटेका छन् ।
एमालेले जनकपुरधामको नगरप्रमुखमा शिवशङ्कर साह र उपप्रमुखमा रुना झालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका जानकी राम साहले नगरप्रमुखमा र उमेश चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । उहाँ दुवै जनाको उम्मेदवारी फिर्ता गराउन प्रयास भइरहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
‘‘उम्मेदवारी फिर्ता लिन हामीले दुवै जनासँग आग्रह गरेका छौँ”, अध्यक्ष यादवले भन्नुभयो,‘‘पार्टीका शीर्ष नेताले पनि पहल गरिरहनुभएको छ, आज साँझसम्म उहाँहरूले उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारी उम्मेदवारलाई सघाउनुहुन्छ ।” त्यो वातावरण बनाउन हामी नियमित पहल गरिरहेको उहाँको भनाइ थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि विभिन्न दल तथा स्वतन्त्र गरी ४१ जना र उपप्रमुखमा ३२ जनाले उम्मेदवारी दिनुभएको छ ।
नगर प्रमुखमा महिला प्रतिस्पर्धामा आसन्न स्थानीय तह निर्वाचनका लागि तीन वटा दलले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छन् ।
मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किसान गिरी, तराई–मधेस लोकतान्त्रिक पार्टीबाट बिभा ठाकुर र जनमत पार्टीबाट अनितादेवीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आसन्न निर्वाचनका लागि जनकपुरधामको नगरप्रमुख पदका लागि विभिन्न १२ दलबाट १२ जना र २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
तीमध्ये तीनै जना महिला फरक–फरक पार्टीबाट नगरप्रमुखमा उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि दलित समुदायका अरुण दास तत्माले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
दलले दलित समुदायलाई नगरप्रमुख पदमा उम्मेदवार नबनाएपछि आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।रासस