
जनकपुरधाम । स्थानीय तहका कतिपय जनप्रतिनिधिहरूले अगामी वैशाख ३० गतेको निर्वाचनका लागि पदबाट राजीनामा दिएपछि स्थानीय तहबाट हुने कतिपय सिफारिसहरू प्रभावित बनेका छन् ।
मधेस प्रदेशका १ सय ३६ पालिका मध्ये अधिकांशमा वडाध्यक्षहरूले पुनः चुनावमा भाग लिनका लागि पदबाट राजीनामा दिएपछि जनताले वडाबाट पाउँदै आएको नागरिकता, चार किल्ला, घर बाटो सहितका सिफारिसहरू बन्द भएका कारणले सर्वसाधारण सेवाग्राहीहरू मारमा परेका थिए ।
जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश जनप्रतिनिधिहरूले गत शुक्रवार वैशाख ९ गते नै पदबाट राजीनामा दिएका कारणले आइतबारबाट वडाबाट हुने सिफारिसको कामकाज अवरुद्ध भएका थिए । नगरपालिकाले गर्ने सिफारिसहरू पनि गर्न थालेको जनाएको छ ।
तर उपमहानगरपालिकाका अधिकांश वडाहरूले वडाबाट नयाँ नागरिकता सिफारिस बाहेकका अन्य सिफारिसहरू आजबाट सुचारु गरेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ का वडा सचिव राजेश ढकालले आज देखि नागरिकता, नाता प्रमाणित बाहेकका सबै सिफारिसहरू गरिन थालेको जानकारी दिनु भयो । नागरिकता तथा नाता प्रमाणितका लागि अधिकार प्रत्यायोजित भएपछि त्यो काम पनि गर्ने बताउन भयो ।
यसै बीच धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा रहेका १८ वटै पालिकाहरूलाई नयाँ नागरिकता बाहेकको सिफारिस गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको जानकारी दिनु भयो ।
नयाँ नागरिकता बनाउनका लागि सिफारिस गर्नका लागि गृह मन्त्रालयले निर्देशनात्मक आदेश जारी गरेपछि स्वतः सिफारिस गर्न मिल्ने जानकारी प्रमुख जिल्ला अधिकारीले दिनुभयो ।
स्थानीय तहमा नयाँ निर्वाचित जनप्रतिनिधि आउनका लागि करिब २० दिन अझै लाग्ने भएकाले यस अवधिमा वडाले गर्दै आएको सबै सिफारिसहरू गर्नका लागि बाटो खुल्ला गरिदिनका लागि सेवाग्राहीहरूले नेपाल सरकारसँग माग गरेको छ ।