
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएका दुई जनाले आज उम्मेदवारी फिर्ता लिनुभएको छ ।
मेयर पदमा उम्मेदवारी दिनुभएका सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का सोहन शर्मा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
जितपुरसिमरा उपमहानगरमा शुक्रवार बिहान बसेको गठबन्धनमा आबद्ध दलहरूको बैठकले सत्ता गठबन्धनको केन्द्रीय तहमा भएको निर्णय अनुसार, गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै दुवै जनाको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार जसपाका मेयर उम्मेदवार शर्मा र जनमोर्चाका जितपुरसिमरा उम्मेदवार कार्कीले आज उम्मेदवारी फिर्ता लिनुभएको नेपाली काँग्रेसका उपमहानगर सभापति छविलाल शर्माले जानकारी दिनुभयो ।
यस्तै, बैठकले गठबन्धनको मर्म अनुरूप पालिका भित्रका वडा तहमा आ–आफ्ना उम्मेदवारलाई सघाउँदै स्वस्थ प्रतिस्पर्धा गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।
यसैगरी, बैठकले निर्वाचन सम्पन्न पश्चात् मनोनीत हुने कार्यपालिका सदस्यमा राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना सदस्य मनोनीत गर्ने निर्णय समेत गरेको छ ।
जितपुरसिमरा उपमहानगरको मेयरमा, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा काँग्रेसकी मेघा शाही उम्मेदवार हुनुहुन्छ ।