जनकपुरधाम । अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई निष्पक्ष तथा भयरहित वातावरण रुपमा सम्पन्न गर्नका लागि मधेस प्रदेशमा ३७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ ।
प्रदेशभरिमा रहेको २ हजार १ सय ६३ मतदान स्थलमा ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेको मधेस प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मतदान स्थलदेखि उम्मेदवार, मतदाता, मतदान कार्यमा खटिने कर्मचारी सहितका निर्वाचन सामाग्रीहरूको सुरक्षाका लागि सुरक्षाकर्मीहरू परिचालन गर्न लागेको छ ।
निर्वाचन प्रयोजनका लागि भर्ना भएका २१ हजारभन्दा बढी म्यादी प्रहरी, ११ हजारको सङ्ख्यामा नेपाल प्रहरी चुनावको सुरक्षामा मधेस प्रदेशका ८ वटै जिल्लामा परिचालन गर्न लागेको मधेस प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसाउद आलम खानले जानकारी दिनुभयो ।
यसैगरी, स्थानीय तहको चुनावका लागि ५ हजार ३ सय ५० जना सशस्त्र प्रहरी पनि परिचालन गर्न लागेको सशस्त्र प्रहरीको मधेस प्रदेश प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी मतदान स्थलको बाहिरी घेरामा रहने भएको छ । भित्र पट्टी नेपाल प्रहरी तथा म्यादी प्रहरीले सुरक्षा व्यवस्था गरिने भएको छ ।
मधेस प्रदेशका ८ वटै जिल्लामा करिब ३३ लाखको हाराकारीमा मतदाता रहेको छ । सबै ठाउँमा सुरक्षा व्यवस्था सुदृढ बनाउने काम भएकोले निर्धक्क भएर निर्वाचन सम्बन्धी क्रियाकलाप गर्नका लागि सबैमा प्रहरीले अनुरोध पनि गरेको छ ।